काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले दुवै पक्षलाई कात्तिक १९ गतेका लागि छलफल गर्न बोलाएको छ ।
कात्तिक २ गते उच्च अदालत पाटनमा दायर भएको रिटमाथि आज ११ गते न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासमा सुनुवाइ भएको थियो । एकतर्फी सुनुवाईमा रिट निवेदकले लाइन काट्ने निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी लाइन नकाट्ने गरी परमादेशको माग गरेको थियो ।
अदालतले १९ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्ने गरी आदेश गरेपछि तत्काल विद्युत् नजोडिने भएको छ । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते बिहानै विद्युत लाइन काटिदिएको हो ।
प्राधिकरणका अनुसार मिल्सले ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापत उक्त रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

FACEBOOK COMMENTS