काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई छानबिनको दायरामा ल्याउन माग भएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले ‘बहुचर्चित तर विवादित’ जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भइरहेको कमशिनको खेलमा मन्त्री खड्काको संलग्नताको आरोप रहेको भन्दै सो माग गरेका हुन् ।
प्रतिनिधिसभाको आज बिहीबारको बैठकको आकस्मिक समयमा सांसद मोदीले डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको ठेक्का सेटिङमा दिन लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
जगदुल्लाकाे टेन्डर प्रक्रियामा ऊर्जामन्त्री र आयोजनाका पदाधिकारीको मिलेमतोमा चिनियाँ ठेकेदार कम्पनी जेसीई–एएनके जेभीलाई सामेल गराइएको भन्दै उनले यो सार्वजनिक खरिद नियमावलीविपरीत रहेको बताए ।
‘के यो सरकार सेटिङबाट नै चलिराख्ने ? मिलेमतोमा चलिराख्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘नक्कली कागजात गरेर ती कम्पनीहरूलाई जुन तरिकाले टेन्डर प्रक्रियामा सहभागी गराइयो, त्यो सार्वजनिक खरिद नियमावलीविपरीत छ ।’
यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको प्रसङ्ग निकाल्दै उनले यसबारे सत्यतथ्य छानबिनको माग गरे ।
सांसद मोदीको भनाइ जस्ताको तस्तै–
![]()
विभिन्न सञ्चार माध्यमहरूमा डोल्पा जिल्लाको जगदुल्ला हाइड्रोपवार कम्पनीमा टेन्डर प्रक्रियाको मिलेमतोको सवाल प्रकाशित भइरहेको छ । खासमा यो सिनो हाइड्रोपावर र जेसीई–एएनके जेभीको सवाल हो । यसमा मूल्य पहिले नै लिक भएको थियो । जगदुल्लाको आर्थिक प्रस्ताव गर्दाखेरि जेसीई–एएनके जेभी ऊर्जामन्त्री र जगदुल्ला हाइड्रोपावरका कार्यकारी निर्देशकको मिलेमतोमा टेन्डर प्रक्रियामा सामेल भएको कुरा आएको छ ।
![]()
के यो सरकार सेटिङबाट नै चलिराख्ने ? मिलेमतोमा चलिराख्ने ? ‘नक्कली कागजात गरेर ती कम्पनीहरूलाई जुन तरिकाले टेन्डर प्रक्रियामा सहभागी गराइयो, त्यो सार्वजनिक खरिद नियमावलीविपरीत छ ।
![]()
यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि गएको छ । यस्तो मिलेमतोमा सरकारले ध्यान दिएको छैन । यसमा सम्बन्धित मन्त्रालयको मन्त्रीसहितको मिलेमतोको विषय उठेको कारणले यसको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेँ ।
जगदुल्लाको ठेक्कामा एक अर्ब रुपैयाँ बराबरको कमिशनको खेल भइरहेको स्रोतको दाबी छ । अख्तियारले यसबारे अनुसन्धान गरिरहेको छ भने ठेक्का प्रक्रियाविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश दिएको छ ।
हाल दाेस्राे पटक ठेक्का आह्वान भएर प्रक्रिया अघि बढेको हो । पहिलो पटक आह्वान भएको ठेक्का विवादित बनेपछि रद्द भएको थियो ।
स्मरणीय छ, जगदुल्लाको टेन्डर प्रक्रियामा सहभागी चिनियाँ कम्पनी जेसीई–एएनके जेभी हालसम्म हाइड्रोपावर क्षेत्रमा कामै नगरेको कम्पनी हो । कमिशनको खेलमा अयोग्य उक्त कम्पनीलाई ठेक्का सुम्पन लागिएको आरोप लागिरहेको छ ।
जगदुल्लाको ठेक्काका लागि चिनियाँ कम्पनीहरू सिनो हाइड्रो र जेसीई–एएनके जेभीलाई प्राविधिक रूपमा सफल भएको भन्दै ‘सर्टलिस्ट’ गरिएको छ । अब दुई यी कम्पनी मूल्य बोलकबोलमा सहभागी हुनेछन् ।
आयोजनाको सिभिल र हाइड्रोमेकानिकलतर्फको कामका लागि ग्लोबल टेन्डर आह्वान गरिएकामा चार कम्पनीले आवेदन दिएका थिए । सिनो हाइड्रो, जेसीई–एएनके जेभीका साथै सिल एचचएच जेभी र टू एमजी फेवा जेभीले आवेदन दिएका थिए ।
जगदुल्ला आयोजना निर्माण गर्दा २३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । १६ अर्ब रुपैयाँ ऋण र सात अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाउन लागिएको छ । नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी सहमति भइसकेको छ ।
नबिल बैंकले चार अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले चार अर्ब, कर्मचारी सञ्चय कोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति छ ।
याे पनि –
FACEBOOK COMMENTS