काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरूङ पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
मनाङेविरूद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजिरेहको थियो । यस मुद्दामा सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेपछि मनाङे पक्राउ परेका हुन् ।
दीपक मनाङेको समूहले ०६१ सालमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरूङलाई तरबार हानेका थिए ।
उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरूद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो । पुनरावेदन अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरूलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर, १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्थाअनुसार उनी रिहा भएका थिए ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटकपटक मन्त्री बने ।
FACEBOOK COMMENTS