काठमाडाैं । सामाजिक तथा राजनीतिक विषयमा बेलाबेलामा स्पष्ट धारणा सार्वजनिक गर्दै आएका कलाकार दीपक राज गिरीले पछिल्लो समय एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मन्त्रीहरूको घुस सम्बन्धी अडियो प्रकरणलाई लिएर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै गिरीले लेखेका छन्,“लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनु पर्यो ! घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नु पर्यो नि ! भोली मन्त्री खाने मान्छे नपाइएला ”
गिरीको टिप्पणीले वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोश र जनतामा बढ्दो असन्तोषलाई झल्काएको छ।
पछिल्लो समय तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरण सम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।
तर त्यसको केही समय नबित्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको समेत ३२ लाख रुपैयाँ लिएको दाबीसहितको अर्को अडियो सार्वजनिक भएको छ।
यसरी एकपछि अर्को अडियो सार्वजनिक भइरहँदा सरकारको निष्ठा र पारदर्शिता माथि गम्भीर प्रश्न उठेका छन्। सामाजिक सञ्जालमा पनि जनस्तरबाट व्यापक आलोचना भइरहेका छन्।
दीपक राज गिरीको व्यंग्यले भ्रष्टाचारविरुद्ध जनताको चर्किंदो आवाज र नेताहरूको जवाफदेहिताको मागलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ।
FACEBOOK COMMENTS