काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा धान किन्ने जिम्मा पाएको सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यमा धान किन्न ढिला गरेको छ । धान किन्न बजेट स्वीकृत हुन ढिलो भएपछि समर्थन मूल्यमा धान किन्न ढिलाइ भएको हो ।
चालू आर्थिक वर्षका लागि खाद्यले ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य राखेको भए पनि बजेट स्वीकृत नभएको कारण देखाउँदै समयमै धान किन्न शुरू गर्न नसक्दा बाढीबाट प्रभावित किसान झनै मर्कामा परेका छन् । खाद्यले धान किन्न ढिलाइ गरेपछि अधिकांश किसानले हिउँदे बालीका लागि रासायनिक मलको जोहो गर्न स्थानीय व्यापारीलाई समर्थन मूल्यभन्दा कम मूल्यमा धान विक्री बाध्य छन् ।
सरकारले चालू आर्थिक वर्षका लागि मोटा धान प्रतिक्वीन्टल २७ सय २५ र मध्यम धानको प्रतिक्वीन्टल २९ सय २ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारी कम्पनीको उदासीनताका कारण समर्थन मूल्यमा धान किन्न ढिलाइ भएपछि व्यापारीहरूले त्यसको फाइदा उठाउँदै किसानसँग मनपरी रूपमा कम मूल्यमा धान किन्न थालेका हुन् । यतिबेला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देहीलगायत अधिकांश जिल्लाका किसान समर्थन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।
बर्दियाको राजापुरस्थित खाद्य कम्पनीको मुख्य शाखा कार्यालयमा यतिबेला धान किन्ने बारेमा कुनै सुरसार छैन । तर, शाखा बाहिर व्यापारीहरूले किसानसँग प्रतिक्वीन्टल १८ सय देखि २५ सय रुपैयाँसम्ममा धान किनिरहेको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार व्यापारीहरूले बाढीका कारण धान भिजेको भन्दै किसानसँग समर्थन मूल्यभन्दा आधा कम मूल्यमा धान किनिरहेको आको आर्थिक अभियान दैनिकमा समाचार छ ।