दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।
मंगलबार बिहान बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई दलको नेता चयन गरेको हो ।
दिल्ली सरकारका मन्त्री गोपाल रायले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् । रायका अनुसार आतिशीलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।
उनले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताए ।
मन्त्री रायले भाजपाले आम आदमी पार्टी फुटाउन र सरकार ढाल्न कोसिस गरेको तर आफूहरूले उसका हरेक प्रयासलाई विफल पारिदिएको बताए ।
मदिरा नीति भ्रष्टाचारमा जेल परेका अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहँदा आतिशीले नै सरकारका महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् ।
अब केजरीवालले दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउने छन् ।
केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनलाई धरौटीमा रिहा गरिएको हो ।
रिहा भएपछि १५ सेप्टेम्बरमा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS