काठमाडौँ । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।
मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,” उनले भने, “विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन कि भन्ने लागेको छ । ”
महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताए । विभागले विज्ञापन खुलाउन आएको मागअनुसार नै खुलाउन अनुुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने विश्वास उनले व्यक्त गरे । उनका अनुसार केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्नेछ र आवेदन माग गर्दा तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् ।
नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो । सोअनुसार पहिलो चरणमा केयरगिभरका लागि परीक्षार्थी श्रमिक पठाउने प्रक्रिया थालिनेछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका २०७८ यसअघि नै जारी गरिसकेको छ । उक्त निर्देशिकामा गरिएको व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा स्वयं श्रमिक आफैँले बेहोनुपर्ने व्यवस्था छ । नेपाल र इजरायल सरकारबीच भएको सम्झौतामा नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।
विभागका महानिर्देशक दवाडीले श्रम विज्ञहरूको मागअनुसार इजरायलको पाठयक्रम परिमार्जन भइसकेको पनि जानकारी दिनुभयो । निर्देशिकाअनुसार इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उचाइ कम्तीमा १।५ मिटर ९४।९ फिट० र तौल ४५ केजी हुनुपर्ने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS