काठमाडौँ । यातायात व्यवसायीहरूले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शुक्रबार एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरू मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् ।
महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाईकन उल्टो बढाउँदा व्यवसायीहरू समस्यामा परेको बताए। “बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपुर्जा लुब्रिकेन्ट, च्यासिस लगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्”, उनले भने ।
महासङ्घले करिब १० खर्बको लगानी रहेको नेपालको यातायात क्षेत्रमा ११ लाख जनशक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आइरहेको बताएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुको साटो बढाउँदा व्यवसायी र जनता थप मारमा परेको बताए ।
महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतमा ६० प्रतिशत दिँदै आएकोमा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिनसमेत माग गरेको छ ।
FACEBOOK COMMENTS