काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४७ सालयता सार्वजनिक पदमा रहेका सबै जनाको सम्पत्ति छानबिन गरी जफत गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको ‘महारोग’ भ्रष्टाचार अन्त्यका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गर्न राप्रपाले सरकारसँग माग गरेको हो । नाजायज ढङ्गले आर्जन गरिएका सम्पूर्ण सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पर्नेमा समेत राप्रपाले जोड दिएको छ ।
‘भ्रष्टाचार अहिले देशमा महारोग जस्तै भएको छ,’ राप्रपाले आफ्नो बैठकको निर्णयमा भनेको छ, ‘विगतमा भएका सुनकाण्ड, वाइडबडी जहाज खरीद काण्ड, बालुवाटार स्थित ललितानिवास जग्गा काण्ड, स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचार, यतिसँग सम्बन्धित भ्रष्टाचार, एनसेल कर छलि प्रकरण, माओवादी लडाकु भत्तामा भएको लूट, स्थानीय तहमा भएका भ्रष्टाचार लगायतका अनियमितता र भ्रष्टाचारको छानविन गर्न र दोषीलाई कारबाही गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’
साथै, २०४७ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत राप्रपा सरकारसँग माग गर्दछ ।
बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि उपस्थित थिए ।
पढ्नुहोस् राप्रपा बैठकले गरेको पूर्ण निर्णय विवरण–
FACEBOOK COMMENTS