काठमाडौं । नेपाल सरकारले ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री शुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरूको सहभागितता थियो ।


प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् ।

सम्बोधनमा प्रधानमन्त्री कार्कीले जहानियाँ राणा शासनको अन्त्य गर्दै जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न विभिन्न कालखण्डका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले वि.सं. २००७ सालको क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान र अधिकारको उद्घोष भएको बताइन् । फागुन ७ गतेलाई रैतीबाट नागरिकमा रूपान्तरण भएको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार त्यही राजनीतिक परिवर्तन रहेको उल्लेख गरिन् ।

प्रजातन्त्र दिवसको अवसरमा आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले २००७ सालको उपलब्धि २०१७ मा गुम्नु, त्यसपछि २०३६, २०४६, २०६२/६३ र २०८२ सम्म पनि जनतालाई सडकमा उत्रिनुपर्ने अवस्था आउनुका कारणबारे प्रश्न उठाइन् । जेनजी युवाहरू समेत आन्दोलनमा उत्रिनु लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत भएको उनको भनाइ थियो । उनले भनिन् – ’हामीले संविधानमा लोकतन्त्र लेख्यौँ, तर व्यवहारमा त्यसलाई संस्थागत गर्न सकेनौँ । सिद्धान्तमा समानता स्वीकार्य भयो, तर संरचनागत असमानता कायम रह्यो ।’

उनले सीमित वर्गको सत्तामा प्रभुत्व, स्रोत–साधनमा एकाधिकार र राज्य संयन्त्रमा प्रभाव कायम रहँदा जनविश्वास कमजोर भएको बताइन् । बजेट वितरण, समानुपातिक प्रणाली, छात्रवृत्ति र रोजगारीमा देखिएका असन्तुलनले असन्तोष बढाएको उनको टिप्पणी थियो ।
भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनलाई उनले राज्य संरचनाप्रतिको प्रश्नका रूपमा व्याख्या गरिन् । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य तथा सुशासनको माग उठाएको उल्लेख गर्दै सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको जानकारी दिइन् । उनले भनिन्– ’सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ ।’
प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल राजनीतिक प्रणाली नभई जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै नागरिकको दैनिक जीवन–रोजगारी, शिक्षा, स्वास्थ्य र महँगीसँग लोकतन्त्रको औचित्य जोडिनुपर्ने धारणा व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि नेपालमा पहिलो प्रजातान्त्रिक निर्वाचन सुरु भएको ऐतिहासिक तथ्य स्मरण गर्दै आजको दिन निर्वाचन दिवसका रूपमा पनि महत्वपूर्ण रहेको बताइन् ।
यस वर्ष फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको जानकारी दिँदै उनले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता गरिएको उनको दाबी थियो । उनले भनिन्– ’लोकतन्त्र भनेको प्रक्रिया मात्र होइन, यसले नतिजा दिनुपर्छ । विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई दु:ख दिनु लोकतन्त्र होइन ।’
प्रधानमन्त्री कार्कीले युवालाई तिरस्कार गरेर राष्ट्र अघि बढ्न नसक्ने उल्लेख गर्दै युवामा ऊर्जा, नैतिक चेतना र परिवर्तनको आकांक्षा रहेको बताइन्। अन्याय, विभेद र अपमान सहन नसक्ने युवाको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको धारणा थियो ।
सम्बोधनको अन्त्यमा उनले लोकतन्त्र, सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, जेनजी युवा तथा आम नागरिकलाई एकजुट हुन आह्वान गरिन्। साथै लोकतन्त्रका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति पुन: श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
FACEBOOK COMMENTS