काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन ।
स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भएको बताए तर निर्णय कार्यान्वयनमा किन ढिलाइ भएको भन्नेबारे थाहा नपाएको बताउँदै भने, “म भोलि नै बुझेर कार्यान्वयनमा लैजान्छु ।”
स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा विज्ञसहितको टोलीको भदौ २१ गते सम्पन्न बैठकले तीन दिनदेखि एक सातासम्म डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको १० दिन बितिसक्दा पनि मन्त्रालयले डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउन सकेको छैन ।
सरकारले डेङ्गु परीक्षण शुल्क नतोक्दा निजी तथा सरकारी अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिँदै आएका छन् । गत साउनदेखि हालसम्म १२ हजार २१७ जनामा डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । डेङ्गु बढेसँगै अस्पतालमा डेङ्गु परीक्षण गर्ने मानिसको भीड बढेको छ ।
सरकारले डेङ्गु परीक्षण शुल्क नतोक्दा निजी तथा सरकारी अस्पताल तथा प्रयोगशालाले मनपरी शुल्क लिँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ओपीडीमा परीक्षण गरेपछि चिकित्सकले प्रेस्क्रिप्सन गरेमा डेङ्गु परीक्षण निःशुल्क हुने जानकारी दिए । अस्पताल र प्रयोगशालाले विभिन्न शुल्कमा किट खरिद गरेको हुनाले डेङ्गु परीक्षण शुल्कमा एकरूपता हुन नसकेको भन्दै उनले न्यूनतम र अधिकतम शुल्क भने तोकिनुपर्ने बताएकाे आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS