काठमाडौं । पछिल्लो समय डेङ्गी रोगबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म नेपालमा ४१ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या ४१ पुग्दा संक्रमितको संख्या पनि ३१ हजारभन्दा बढी पुगेको छ । चाडपर्व तथा पानी परिरहेकाले डेङ्गी अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गीको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको बताइएको छ ।
डेङ्गीको संक्रमण फैलिरहेकाले दशैँमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्दा सचेत रहन पनि डाक्टरहरुको सुझाब छ । डेङ्गी देशभर फैलिएकाले संक्रमणको जोखिम अझै पनि उच्च छ । दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टरहरुले सुझाब दिएका छन् ।
डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ ।
FACEBOOK COMMENTS