काठमाडौं । पछिल्लो समय डेङ्गी संक्रमितको संख्या बढ्दै गएको छ । डेङ्गी संक्रमितको संख्या बढ्न थालेसँगै सरकारले दैनिक संक्रमण हुनेको संख्या सार्वजनिक गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा डेङ्गी रोगका संक्रमितको संख्या २५ हजार बढी पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले नेपालमा डेङ्गी रोगीको २५ हजार ४४३ पुगेको छ । आइतबार मात्रै नेपालमा १ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार डेङ्गी रोगबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा डेङ्गीबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जुन साउन महिना पछिको मात्रै विवरण हो ।
मन्त्रालयका अनुसार देशका ७६ जिल्लामा डेङ्गी रोगका बिरामी भेटिएका छन् । यसमध्ये काठमाडौंमा मात्रै ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर २५ हजार ४४३ जनामा संक्रमण पुष्टि भएकोमा १२ हजार ३५ जना उपत्यका भित्रका मात्रै रहेका छन् ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै २ हजार २७५ जनामा संक्रमण देखिएको छ । डेङ्गी रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु पर्ने डाक्टरहरूले बताउने गरेका छन् ।
FACEBOOK COMMENTS