काठमाडौँ । उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो लिने दिने प्रथाविरुद्ध कडा सन्देश दिँदै यस्ता विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको सुरुवात आफूबाटै गर्नुपर्ने उल्लेख गर्दै सानो व्यक्तिगत प्रयासले पनि ठूलो सामाजिक परिवर्तन सम्भव हुने र आफु दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् ।
उनले पछिल्लो समय धेरै विवाहका निमन्त्रणापत्र प्राप्त भइरहेको तर तीमध्ये कुनैमा पनि ’दाइजोमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नभेटिएको जनाएकी छन् । यसले समाज अझै पनि दाइजो जस्तो गम्भीर कुरीतिबाट मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ ।
दाइजो लिनु र दिनु मात्र नभई, त्यस्तो प्रथामा आधारित विवाह स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज खानु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुने उनले उल्लेख गरेकी छन् । यस्तो अभ्यासले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष असर पर्ने उनको धारणा छ ।
समाज परिवर्तन र देश विकासका लागि कुरीतिविरुद्ध उभिन आवश्यक रहेको बताउँदै उनले परिवर्तनको सुरुवात व्यक्तिगत तहबाट गर्नुपर्नेमा जोड दिएकी छन् ।

यसै सन्दर्भमा, दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी हुन नसक्ने जानकारी गराउँदै उनले सबैलाई दाइजोमुक्त, समानतामा आधारित र सभ्य विवाहलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् । साथै, विवाह निमन्त्रणापत्रमै ’दाइजोमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न उनले अनुरोध गरेकी छन् । सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ अघि बढ्न उनले आह्वान गरेकी छन् ।
