काठमाडौँ । एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।
विधान महाधिवेशनबाट पार्टीको कार्यकारी नेतृत्व, पदाधिकारी संख्या, केन्द्रीय कमिटीको आकारप्रकार निर्धारण हुनेछ। स्थायी कमिटीको शनिबारको बैठकले असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन सारेर १५ देखि १७ सम्म गर्ने निर्णय लिएको छ। भावी नेतृत्व कस्तो हुने, कस्तो बनाउने, केन्द्रीय कमिटी र पदाधिकारी कति सदस्यीय हुने, सांगठनिक संरचना कस्तो बनाउने भन्ने विषयको निर्धारण विधान महाधिवेशनले गर्नेछ।
नवौं महाधिवेशनले एमालेमा उमेरहद ७० वर्ष तोकेको छ। उमेरहदको यो व्यवस्था कायमै रहे दसौं महाधिवेशनपछि पहिलो पुस्ताका धेरैजसो नेताले राजनीतिक अवकाश पाउने भएकाले पनि आगामी विधान महाधिवेशन अर्थपूर्ण रहनेछ। ‘अहिले ७० वर्षे उमेरहदको प्रावधानलाई केही गर्नु नपर्ने भएकाले यो व्यवस्था कायमै छ। प्रतिनिधिहरूले अधिवेशनमा कस्तो मत जाहेर गर्छन् तर हामीलेचाहिँ ७० वर्षे प्रावधान आवश्यक देखेकाले यथावत राखेका छौं’, एमाले सचिव प्रदीप ज्ञवालीले भने।
उमेरहदको यो प्रावधान कायम गर्नुपर्ने पक्षमा नेताहरू छन्। एमालेमा महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित हुने व्यवस्थाले भने थप बहस सिर्जना गरेको छ। आठौं र नवौं महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था थियो। अहिले तयार पारिएको संशोधित विधान मस्यौदामा भने सो व्यवस्था हटेको छ। ‘अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव ७ हुनेछन्’, संशोधित विधानमा उल्लेख छ। संशोधित विधानमा उपाध्यक्षको संख्या घटाइएको छ। विधान मस्यौदामा सचिवको संख्या भने बढाइएको छ। यसअघि पाँच सचिव निर्वाचित हुने व्यवस्था थियो।
आन्तरिक विवाद समाधान नहुँदै र विवाद समाधानका लागि १०बुँदे सहमति कार्यान्वयन नहुँदै केन्द्रीय कमिटीमा पेस भएको विधान मस्यौदामा ७० वर्षे उमेरहद कायमै राखिएको छ। त्यस्तै, अध्यक्ष र केन्द्रीय कमिटी सदस्यहरू मात्रै निर्वाचत हुने नयाँ प्रावधान थपिएको छ। मस्यौदामा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलाई केन्द्रीय कमिटीले चयन गर्ने उल्लेख छ। तर त्यसबारे १०बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसहित स्थायी कमिटी बैठकमा सहभागी भएका नेताहरू भने औपचारिक रूपमा जानकार छैनन्। उनीहरू जानकार नभएकै कारण शनिबार दुई पटक बसेको स्थायी कमिटी बैठकमा विधान मस्यौदाबारे छलफल भएन। विधान अधिवेशन प्रतिनिधि छनोट मापदण्ड तय गरेर बैठक सकियो।
‘आजको बैठकमा विधान मस्यौदा प्रस्तुत भएन। अब आउने स्थायी कमिटीमा प्रस्तुत हुनेछ। केके प्रावधान नयाँ आउँछन् मस्यौदा हेरेपछि मात्रै थाहा र छलफल हुनेछ’, प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। उनका अनुसार बैठकले विधान अधिवेशनका लागि प्रतिनिधि छनोट मापदण्ड तय गरेको छ। बैठकले यसअघि असोज ४ देखि ६ गतेसम्म तोकेको विधान महाधिवेशन सारेर १५ देखि १७ सम्म गर्ने निर्णय गरेको छ। विधान महाधिवेशन अघि स्थायी कमिटी डाकेर विधान मस्यौदामा छलफल हुनेछ।
नवौं महाधिवेशनले कायम गरेको ७० वर्षे उमेरहदका कारण सिद्धिलाल सिंह, भरतमोहन अधिकारीले राजनीतिबाट विश्राम लिएका थिए। आगामी विधान अधिवेशनले यो व्यवस्था कायम राखे धेरै नेताहरू महाधिवेशनसम्म बिदा भैसक्नेछन्। एमाले अध्यक्ष केपी शर्मा ओली फागुनमा ७० वर्ष पुग्दैछन्। मंसिरमै महाधिवेशन भए उनी थप कार्यकालका लागि अध्यक्ष हुन पाउनेछन्। तर फागुनमा ७० वर्ष पुगेपछि भने उनको हकमा पनि सो प्रावधान लागु हुनेछ। ओलीले उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने बताइरहेको र पार्टीभित्र नयाँ नेतृत्वको बहस उठिरहेका बेला हुन लागेको विधान महाधिवेशनलाई एमाले नेता कार्यकर्ताले निकै महत्वका साथ हेरिरहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS