काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीका विषयमा निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । यो रिटको पेस आजैका निम्ति तोक्न देउवा समूहका कानुन व्यवसायीले आग्रह गरेका थिए । तर, सर्वोच्च प्रशासनले यस दिन सुनुवाइ सम्भव नभएको जनाएको कानुन व्यवसायीले जानकारी दिए ।
सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका निम्ति तोकेको छ । भोलि सार्वजनिक बिदा छ । आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च गएको हो ।
रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो पनि पढ्नुस्-
विशेष महाधिवेशन बदर माग गर्दै सर्वोच्च पुग्यो देउवा समूह

FACEBOOK COMMENTS