नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४, दुमकट्टामा देउसीभैलो खेल्ने समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
देउसीभैलो खेल्न आएका युवाको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।
बिहीबार राति देउसीभैलो खेल्दै दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्तबहादुरलाई उपचारका निम्ति स्थानीय लुम्बिनी मेडिकल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको डीएसपी नेपालले जनाकारी दिए ।
घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताए ।
पक्राउ पर्नेमा विनयी त्रिवेणी–४, दुमकट्टाका १९ वर्षीय रिंकु गुरुङ, २० वर्षीय धरन पाइजामगर र एक १७ वर्षीय किशोर छन् । शव पोस्टमार्टमका निम्ति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।

FACEBOOK COMMENTS