काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा भएकाे जन्ममिति फरक परेकाे विषयमा परेकाे उजुरी रद्द भएकाे छ । नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक भेटिएपछि उनकाे उम्मेदवारी रद्दगर्न माग गर्दै उनका प्रतिद्वन्दी कर्ण मल्लले उजुरी दिएका थिए ।
मतदाता नामावलीमा प्रिन्ट मिस्टेकका कारण जन्ममिति फरक परेकाे भन्दै निर्वाचन कार्यलय डडेलधुराले उजुरी खारेज गरिदिएकाे हाे ।
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।
सोमबार परेकाे उजुरी उपर मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित जवाफ बुझाएकी थिइन् ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मल्लको उजुरी खारेज गर्दै मतदाता परिचयपत्रमा देउवाका जन्ममिति गलत उल्लेख भएको प्रष्टिकरण दिएको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने, ‘नागरिकता अनुसार नै हुनुपर्ने उहाँको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गलत भएको रहेछ ।’
FACEBOOK COMMENTS