काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप लागेपछि विगत १६ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा भेटिएका छन् ।
इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका नेपालीलाई भारतीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो । भारतीय प्रहरीले नेपाली पक्राउको जानकारी नेपाल प्रहरीलाई दिएको हो ।
नेपाल प्रहरीका एक उच्चाधिकारीका अनुसार उनलाई दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरी नेपाल ल्याउने प्रक्रिया थालिएको छ ।
मेयर नेपालीविरूद्ध १२ माघ २०८० मा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो ।
सहकारी ठगी प्रकरणमा जोडिएपछि उनी ५ जेठ ०८० देखि फरार थिए ।
बगलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ मा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
बचतकर्ताको दुई अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप मेयर नेपालीमाथि छ ।
FACEBOOK COMMENTS