हामीले बढी लगानी गर्नुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्य हो । शिक्षासँग सम्झौता भएका विषयहरूलाई पनि अक्षरशः कार्यान्वयन गर्नुपर्यो । विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी सृजना गर्नुपर्यो । कुनै ठाउँमा १६ जना विद्यार्थी छन् १६ जना नै शिक्षक हुनुहुन्छ । तराइतिर १५० जनासम्मको विद्यार्थीको बीचमा एक जना गुरु हुनुहुन्छ । कम्तिमा यस्तो विभेद नगरौँ ।
शिक्षा र स्वास्थ्य स्थानीय तहमा लैजाँदै गर्दा ठूलो बेथिति आएको छ । शिक्षा र स्वास्थ्य संघमा हुँदा राम्रो थियो, स्थानीय तहमा गएपछि स्वास्थ्यमा सिटामोल पनि पाइएन भन्ने जनताको गुनासो छ । त्यसकारण मेरो आग्रह छ, शिक्षा र स्वास्थ्यलाई संघमै ल्याउनुपर्यो । साथै शिक्षकसँग अस्ति भएको सहमति तत्काल यसै सदनमार्फत कार्यान्वयनमा ल्याउनुपर्दछ ।
कृषिमा लगानी गर्नुपर्यो । कृषिमा लगानी गर्न नहिचकिचाऔँ । पहिला पहिला नेपालले खाद्यान्न विदेशमा निर्यात गर्दथ्यो अहिले नुनदेखि सबै कुराहरू आयात गर्दा व्यापार घाटा कति धेरै बढेको छ ? यसको कारण कृषिमा लगानी भएन, अनुत्पादक क्षेत्रमा लगानी बढ्यो ।
पोखरा विमानस्थल नबनाइ बाराको निजगढ विमानस्थल बनाएर फास्ट ट्रयाक सञ्चालन गरेको भए यो देशको अवस्था आज यस्तो हुने थिएन । अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ, अनुत्पादक क्षेत्रमा बजेट नहाल्नुहोस् । कृषि क्षेत्रमा लगानी बढाउनुस् ।
तराइँको उर्वर भूमि भनेर भाषण गर्छौँ हामी । तर, त्यहाँ बजेट खोइ ? त्यहाँको बजेट कहाँ जान्छ ? ५० करोड बजेटले बागमती सिंचाई आयोजना गौरवको आयोजना हुन्छ ? त्यतातिर लगानी बढोस् ।
अहिले हामीसँग व्यापार घाटादेखि लिएर करिब २७ खर्ब ऋण छ । यो ऋण कसरी तिर्ने ? भोलिका दिनमा उठेका राजस्वले व्याज तिर्नै नपुग्ने अवस्था आउँदैछ विकास कहाँबाट गर्ने ? यो तीन तहको निर्वाचितलाई कहाँबाट तलब खुवाउने ? देश चल्छ ? देशको अवस्था के हुन्छ ? ठूलो संख्या भयो यसलाई कटौती गर्दै लैजाऔँ र शिक्षा र स्वास्थ्यमा लगानी बढाऔँ ।
गरिबीको रेखामुनी रहेका जनता खुला आकामा सुत्न बाध्य छन् । त्यतातिर ध्यान छैन ।
हामीसँग दुई खर्ब रुपैयाँ बराबरको काठ जलेर जान्छ । त्यो बेच्ने कुनै योजना र नीति छैन, तर मलेसियाबाट काठ किनेर ल्याइन्छ । अनि ऋण नबढेर के बढ्छ ?
राजस्व त्यस्तै छ, लक्ष्यभन्दा बढी उठ्छ, तर सबै इमानदार बन्नुपर्यो । सरकारमा हुनेदेखि सबै इमानदार बन्नुपर्यो । सात खर्बजति बेरुजु छ । त्यो उठाउनु परेन ? काठ र बेरुजुबाट तत्काल नौ खर्ब रुपैयाँ ऋण तिर्न सकिन्छ । खोइ सरकारको ध्यान ? राम्रा कुरा र योजनामा बजेट हालौँ देशले कायापलट गर्न सक्छ ।
सत्ताको पहुँचको भरमा मन्त्रीजीहरूले बजेट हाल्दा यो देश पछाडि पर्दै पर्दै गयो । म मन्त्री हुँदा बजेटजति आफ्नो क्षेत्रमा हाल्ने अनि मन्त्रीबाट हटेर रोष्ट्रममा चढ्नेवित्तिकै सन्तुलित विकास भएन भनेर कहाँ हुन्छ ? सन्तुलित विकास जरुरी छ, तर यस्तो व्यवहारले हुँदैन ।
(सांसद तिमल्सिनाले प्रि–बजेट छलफलमा आज व्यक्त गरेको धारणा ।)
FACEBOOK COMMENTS