काठमाडौं । नाडाको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा शनिबार धनुषाको ढल्केबरमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष तेजनारायण शाहको सभापतित्वमा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्य रहेको उनले बताए । ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने बताउँदै मुख्यमन्त्री राउतले आफूले प्रदेश २ भित्र लगानीमैत्री वातवरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता गरेका छन्।
कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए । यातायात क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नरहेको उनको भनाइ छ । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्रदान गर्ने क्षेत्र रहेको बताउँदै अध्यक्ष दुलालले सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए । कोरोना महामारीबाट बच्न निजी सवारी साधनको प्रयोग र खरिद तथा बिक्री बढेसँगै यस क्षेत्रबाट राजश्वमा योगदान पनि बढेको दुलालको भनाइ छ ।
FACEBOOK COMMENTS