काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमार्फत सुरु भएका काठमाडौँका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाएका छन् ।
सङ्घीय राजधानीभित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उनले छिटो सम्पन्न गर्न निर्देशनसमेत दिए ।
मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वसहित मन्त्री दाहालले आज विभिन्न पूर्वाधार योजनाको निरीक्षण गरे । उनीसहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधीन फ्लाइओभर र नागढुङ्गा सुरुङको निरीक्षण गरेको हो । ग्वार्को फ्लाइओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताए ।
सो योजना पूरा हुन निर्धारित समयभन्दा ढिला भइसकेको उल्लेख गर्दै उनले यसै महिनाभित्र पूरा गरी सवारीसाधन सञ्चालन हुने अवस्थामा पुर्याउन निर्देशन दिए ।
यस्तै मन्त्री दाहालले काठमाडौं प्रवेश गर्ने प्रमुखद्वार थानकोटमा निर्माणाधीन फ्लाइओभरको निरीक्षण गरे । त्यस क्रममा उनले सो फ्लाइओभर निर्माण पूरा भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गरे । हाल सो फ्लाइओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रको काम भइरहेको छ ।
त्यसलगत्तै यस्तै मन्त्री दाहालले नागढुङ्गा सुरुङ मार्गको समेत निरीक्षण गरे । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङयुगमा प्रवेश गर्ने बताए । सुरुङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।
FACEBOOK COMMENTS