काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) आज पक्राउ गरेको हो । सीआईबीमा प्रवक्त शिव कुमार श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले भट्टचनलाई ललितपुर जिल्लाको गोदावरी नगरपालिका ३ बाट पक्राउ गरेको बताए । उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोप लागेको छ । उनलाई प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएको पाइएको छ ।
‘ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको लामो समयदेखि अनुसन्धान भ्इरहेको सीआईबीले जनाएको छ ।

‘लुकिछिपी बसेका पूर्वसभासद तथा प्रभु मनि ट्रान्सफर प्रा.लि.को अध्यक्ष (प्रभु ग्रुपका सञ्चालक) देवी प्रकाश भट्टचन समेतले रेमिट कारोबार गर्ने लाइसेन्स नेपाल राष्ट्र बैंक मार्फत् प्रभु मनि ट्रान्सफर प्रा.लि. ले प्राप्त गरी सो मार्फत् विदेशमा बसेका नेपालीहरुले नेपालका विकट गाउँहरुमा आफ्ना आफन्तलाई सहज रुपमा नजिकैको स्थान विशेषबाट छरिएका सहकारी मार्फत् विप्रेषण बापतको रकम भुक्तानी गराउनको लागि मिति २०६९/०९/०१ गते प्रभु म्यानेजमेन्ट प्रा.लि. र प्रभु मनि ट्रान्फर प्रा.लि. बीचको करार सम्झौता हुँदाका बखत दुवै कम्पनीका मुख्य सञ्चालक निज कसूरदार देवी प्रकाश भट्टचन रहेको, प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि. का तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत् विप्रेषणको कारोबार गर्ने सम्झौता गरेकोमा नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली, २०७९ मिति २०७९/१०/१३ गते जारी भई प्रचलनमा आएको र उक्त विनियमावलीको बुँदा नं. ९ मा कम्पनीले भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफैं वा आफूद्वारा नियुक्त सब–एजेण्ट वा सब–रिप्रेजेन्टेटिभ मार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ, विज्ञप्तिमा भनिएको छ, ‘विपरीत कार्य जारी राखी प्रभु म्यानेजमेन्ट प्रा.लि. को सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फर प्रा.लि. का अध्यक्ष देवी प्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रा.लि. बाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको भनी देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट परेको उजुरी सम्बन्धमा अनुसन्धान भई निज देवि प्रकाश भट्टचनका नाउँमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको हुँदा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।११ गते ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ टौकेलबाट वर्ष अ. ६२ का देवी प्रकाश भट्टचन (ना.प्र.नं.३१४, ललितपुर ) लाई कानुनबमोजिम पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।’

FACEBOOK COMMENTS