काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेकाले अनुसन्धान जरुरी रहेको बताएका छन् ।
आज बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु)ले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
सो क्रममा उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै यस विषयमा संसदले पनि जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए । अहिले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत भए पनि यस विषयमा छलफल र बहस भइरहेको जानकारी उनले दिए ।
‘एनसेल फिर्ता हुने भन्ने समाचार आएपछि मैले तत्कालै भनेको थिएँ– विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजाने होइन, थप लगानी ल्याएर अरु मुनाफा कमाउन भनेको थिएँ । लगानी फिर्ता गर्ने घोषणा भएको तीन दिनभित्रै शेयर बिक्री गरेको विषय अध्ययन गर्नुपर्ने खालको रह्यो । संसदको पनि चासो छ । संसद अधिवेशन अन्त्य भएका कारण संसदीय समितिहरुले छलफल र निर्णयहरु भइसकेका छन्,’ उनले भने ।
सभामुख घिमिरेले अनेरास्ववियुको आन्दोलनबारे आफ्नो कुनै टिप्पणी नरहेको बताए । ‘तर, एनसेलको सिम फ्याल्ने, डढाउने भन्ने कुराप्रति व्यक्तिगतरुपमा म के भन्न चाहन्छु भने त्यसो गर्दा सम्पत्ति पनि क्षति भइरहेको हुन्छ । छानबिन होस्, निष्कर्ष आओस् । तपाईंहरुले भौतिक क्षति नहुनेगरी कार्यक्रम गर्दा राम्रो हुन्छ । राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने विषयमा संसद र व्यक्तिगतरुपमा म सचेत छु,’ उनले भने ।
अनेरास्ववियुले सभामुख घिमिरेलाई बुझाएको ज्ञापनपत्रमा के छ ?
FACEBOOK COMMENTS