काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एकअर्कालाई छल्न खोज्ने हो भने संसद कहिल्यै अगाडि नबढ्ने बताए ।
उनले भने, ‘कानुनहरूलाई समयअनुसार सुधार गर्दै जानुपर्छ । यसतर्फ कसैको ध्यान गएको छैन । कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो हुनुपर्छ । यी संस्थाहरूले एकअर्कालाई छल्न खोज्ने, विपरीत जान खोज्ने कार्यले पनि संसदको कामकारबाही, संसदीय सेवा, संसदलाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुन सक्छ । यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ ।’
यस्तै, उनले संसद सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै यसलाई सबैले मिलेर पूरा गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो संसद सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यसमा के कस्ता समस्याहरू छन्, त्यसलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने हाम्रो दायित्व हो । मुख्य रूपमा संसदलाई प्रभावकारी बनाउनका लागि यसले दिने सेवा सुविधाहरू जे हुन् त्यसको आधारमा संसद प्रभावकारी हुन्छ ।’
यसका साथै, संसदलाई प्रभावकारी बनाउने कुरामा केही प्रगति भए पनि अझै धेरै गर्न बाँकी रहेको पनि उनले बताए ।
FACEBOOK COMMENTS