काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि थप चलायमान बनाउन निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले निजी क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यावसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए।
उनले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजस्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे। निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानूनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘उद्योग वाणिज्य, भन्सार र वन लगायतका विद्यमान ऐन कानून र नीतिहरू छन्। ती नीतिहरू जबसम्म परिमार्जन गर्न सक्दैनौं, तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन। त्यसको लागि सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ। त्यसले ऐनहरू पुराना ऐनहरू सुधारको लागि सुझाव दिओस् भन्ने महासंघले सुझाव राखेको थियो। अहिले त्यही अनुसार आयोग गठन भएको छ। निजी क्षेत्रको प्रतिनिधि राखिएको छ,’ उनले भने।
उनले अगाडि थपे, ‘निजी क्षेत्रको प्रतिनिधित्वले आगामी दिनमा निजी क्षेत्रका मुद्दाहरू सम्बोधन र व्यावसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुन्छ। आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजस्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने सम्भव हुन्छ।’
उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानून र नीतिहरू परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गरे। उनले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरू सुधारको लागि सुझाव दिने बताए।
FACEBOOK COMMENTS