काठमाडौं । सार्क उद्योग वाणिज्य महासंघ (एससीसीआई) का अध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सियान शहरको भ्रमण गरेको छ।
दक्षिण एसिया र चीनबीच जडीबुटी,परम्परागत स्वास्थ्य सेवा,अनुसन्धान,नवप्रवर्तन तथा व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले भ्रमण गरेको हो ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका अग्रणी जडीबुटी उद्योगका प्रतिनिधि तथा सरोकारवालासँग विभिन्न चरणका छलफल तथा स्थलगत अवलोकन गरेको थियो। छलफलमा जडीबुटी खेती, प्रशोधन, अनुसन्धान, प्रविधि हस्तान्तरण तथा बजार विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विस्तृत विचारविमर्श भएको थियो।
अध्यक्ष ढकालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूमा रहेको परम्परागत चिकित्साको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्दै दिगो आर्थिक विकासमा योगदान पुग्ने खालका साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
भ्रमणका क्रममा काओजिएन कम्पनीकी उपाध्यक्ष सुन शेनले प्रतिनिधिमण्डललाई स्वागत गर्दै विभिन्न कार्यक्रमको समन्वय गरेकी थिइन् । उनले प्रतिनिधिमण्डललाई कम्पनीका जडीबुटी प्रशोधन केन्द्र तथा औषधीय वनस्पति खेती क्षेत्रको अवलोकन गराएकी थिइन्। अवलोकनका क्रममा प्रतिनिधिमण्डललाई आधुनिक खेती प्रविधि, गुणस्तर सुनिश्चितता प्रणाली तथा दिगो उत्पादन अभ्यासबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सार्क उद्योग वाणिज्य महासंघका महासचिव जुल्फिकार बटले पनि सम्बोधन गर्दै जडीबुटी तथा प्राकृतिक औषधि क्षेत्रमा सार्क राष्ट्रहरू र चीनबीच सहकार्यको व्यापक सम्भावना रहेको बताए। उनले संस्थागत साझेदारी, संयुक्त अनुसन्धान, क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा व्यापार सहजीकरणमार्फत क्षेत्रीय मूल्य शृंखला सुदृढ गर्न र व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा चीनका विभिन्न प्रतिष्ठित व्यक्तित्व तथा उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो। सहभागीमध्ये सियान जियाओटोंग विश्वविद्यालयका कानुन प्राध्यापक तथा सियान बौद्धिक सम्पत्ति अनुसन्धान संस्थानका निर्देशक प्रा. मा झी गुओ, सियानको लान्तियन काउन्टी अन्तर्गत ताङयु टाउनका पार्टी सचिव सङ साओपु, सियान कर निरीक्षण ब्युरोका निर्देशक वाङ बाओगुओ, अग्रपंक्तिका युद्ध संवाददाता तथा राष्ट्रिय नायक हे जुनफेङ, सेन्जेन तथा हङकङमा सूचीकृत कम्पनीका अध्यक्ष चेन यान तथा सियान दाओ तोङ ताइबाइ सेभेन मेडिसिन रिसर्च कम्पनीका अध्यक्ष झेङ होङ रहेका थिए।

उनीहरूको सहभागिताले जडीबुटी चिकित्सा, नवप्रवर्तन, बौद्धिक सम्पत्ति संरक्षण, लगानी तथा दिगो आर्थिक विकासका क्षेत्रमा चीन–सार्क सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।
छलफलमा दुवै पक्षले लगानी प्रवर्द्धन, ज्ञान आदानप्रदान तथा संयुक्त कार्यक्रम सञ्चालनमार्फत सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष ढकालले चिनियाँ पक्षबाट प्राप्त आत्मीय आतिथ्यप्रति आभार व्यक्त गर्दै क्षेत्रीय समृद्धि र साझा विकासका लागि सार्थक साझेदारी विस्तार गर्न सार्क चेम्बर प्रतिबद्ध रहेको बताए।
यस भ्रमणलाई दक्षिण एसिया र चीनबीचको आर्थिक,सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। साथै, तीव्र रूपमा विस्तार भइरहेको जडीबुटी तथा प्राकृतिक औषधि क्षेत्रको विकासका लागि नयाँ सहकार्यका ढोका खुल्ने अपेक्षा गरिएको छ।
सार्क उद्योग वाणिज्य महासंघ दक्षिण एसियाको निजी क्षेत्रको सर्वोच्च क्षेत्रीय संस्था हो । जसले सार्क सदस्य राष्ट्रका व्यावसायिक समुदायको प्रतिनिधित्व गर्दै क्षेत्रीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ।