कञ्चनपुर– बेदकोट नगरपालिका ८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् ।
धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउँदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् ।
‘यस प्रविधिबाट धान रोप्न खेत हिल्याउनु पर्दैन’, कृषक मल्लले भने, ‘रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।’ परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।
एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट लगाइएको धानका लागि रु १५ हजारदेखि रु २० हजार कम लाग्ने गरेको उनले बताए। ‘छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्’, कृषक मल्लले भने , ‘परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएकोे धानको उत्पादन दोब्बरले बढी भएको छ ।’
