पाँचथर । पाँचवटा खेतमा फलेको १६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।
गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।
मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।
फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगे ।
मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उनी औधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए । त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।
फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाए ।
“वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । “विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उनले भने, “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका थिए ।
किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाए । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । “धान जम्मा गर्न सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उनले भने । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् ।
“दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्”, मकरबहादुरले भने । विसं २०६० देखि धान खेतीमा लागिपरेको उनी बताउँछन् । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उनले बताए । मकरबहादुर गाउँपालिकाले ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन् । “गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ”, उनले भने । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ ।
FACEBOOK COMMENTS