काठमाडौं । असार मसान्तसम्म ६८.६ प्रतिशत धान रोपाइँ भएको छ । यो अघिल्लो वर्षभन्दा १२ प्रतिशत बढी हो ।
गत वर्ष असार मसान्तसम्म ५६.५ प्रतिशत धान रोपाइँ भएको थियो ।
कृषि विभागको अनुसार ९ लाख ५९ हजार हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । जबकी यो वर्ष १३ लाख ९८ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने आकलन गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्ष १४ लाख ३८ हजार हेक्टरमा रोपाइँ भएको थियो । जसमा ५७ लाख २४ हजार टन धान उत्पादन उत्पादन भएको थियो । त्यतिखेर मनसुन ढिलो सुरु हुँदा धान रोपाइँ साउन अन्तिमसम्म भएको थियो ।
तर अहिले मनसुन छिटो सुरु भएको हुँदा धान रोपाइँ अघिल्लो वर्षभन्दा बढेको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताएका छन् । पछिल्लो समय निरन्तर पानी परेको हुँदा तराई क्षेत्रमा धान रोपाइँ बढेको अनुमान गरिएको छ । धान रोपाइँ ढिलो हुँदा धान उत्पादकत्वमा कमी आउँछ । यो वर्ष अघिल्लो वर्षभन्दा रोपाइँ छिटो भएको हुँदा उत्पादन बढ्न सक्ने सम्भावना देखिएको छ । रासायनिक मल आपूर्तिमा पनि यस पटक खासै समस्या नआएको कृषि मन्त्रालयले बताएको छ ।
विभागको अनुसार असार अन्त्यसम्ममा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ । यस प्रदेशमा कुल जमिनको ९५ प्रतिशत रोपाइँ सकिएको छ । अघिल्लो वर्षभन्दा यो प्रदेशमा ३ प्रतिशत रोपाइँ बढेको छ । अघिल्लो वर्ष यो प्रदेशमा कुल क्षेत्रफलको ९२ प्रतिशत रोपाइँ भएको थियो ।
यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल जमिनमध्ये ९४ हजार ६९९ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा असार ३१ सम्म कुल क्षेत्रफलको ८६.२ प्रतिशत धान रोपाइँ भएको छ । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ ।
जसमध्ये ३६ हजार १२९ हेक्टरमा धान रोपाइँ सकिएको छ । मधेश प्रदेशमा सबैभन्दा कम ६१.७ प्रतिशत रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३३.१ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कुल क्षेत्रफलको २८.४ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
विभागको तथ्यांकअनुसार असार मसान्तसम्ममा लुम्बिनीमा ६६.७ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ६४.१ प्रतिशत रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा २.६ प्रतिशत बढी हो ।
गण्डकीमा ७६.४ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा ६६.७ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष र यस वर्ष धान रोपाइँको अवस्थामा खासै फरक देखिएको छैन ।
बागमती प्रदेशमा कुल जमिनको ६९.२ प्रतिशत भागमा धान रोपाइँ सकिएको छ । गत वर्षको यही समयमा ६४.९ प्रतिशत रोपाइँ भएको थियो । अघिल्लो वर्षभन्दा यस पटक ५.७ प्रतिशतले रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टरमा रोपाइँ हुन्छ ।
यसैगरी कोशी प्रदेशमा असार ३१ सम्म ६१.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही समयमा ५५.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षभन्दा ५.८ प्रतिशत रोपाइँ बढको छ । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर रहेको छ ।
FACEBOOK COMMENTS