काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे।
सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले छानबिनमा सघाउने बताए ।
सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योती गुरुङको समेत संलग्नता रहेको तथ्य खुलेको छ । सहकारी छानविन विशेष समितिले एक जना सहकारी सञ्चालकसँग बयान लिएपछि कांग्रेस उपसपभापति एवम् पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योती गुरुङले ठगी गरेको उजुरी प्राप्त भएपछि यो विषय बाहिर आएको हो ।
ज्योतीविरुद्ध ललितपुरको महालक्ष्मीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरीसमेत दर्ता गरेको तथ्य फेला परेको छ । अध्यक्ष कुम्भराजले सीआईबीमा धनराज र पत्नी ज्योतीबिरुद्ध सीआईबीमा आर्थिक अपराध ठगीमा जाहेरी दिएका हुन् ।
जाहेरीमा धनराज र पत्नी ज्योतीले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । सो रकम धनराज दम्पतीले ज्योतीकुमार भण्डारीलाई बैंकक पठाएको तथ्यसमेत बाहिर आएको छ । सहकारीका अध्यक्ष कुम्भराजका अनुसार धनराज पत्नी ज्योतीले सो रकम ठगी गरेको दाबी गरिएको छ । धनराज आफै साक्षी बसेर रकम ठगीमा सघाएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS