काठमाडौं । काठमाडौ मेडिकल कलेज सिनामंगलले स्याङ्जा जिल्लाबासीलाई सबै प्रकारको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
आगामी चैत ४ गते स्याङ्जा जिल्लावासीलाई अस्पतालमा उपचार निःशुल्क गर्न लागिएको अस्पतालले जनाएको छ । नेपाली कांग्रेसका उपसभापति समेत रहेका स्याङ्जा क्षेत्र २ का सांसद धनराज गुरुङको पहलमा सो सेवा उपलब्ध गराउन लागिएको हो ।
सो मेडिकल कलेजका प्रोप्राइटर समेत रहेका प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माले एक दिनका लागि स्याङ्जा जिल्लावासीलाई उपचार निःशुल्क गर्न लागिएको जानकारी दिए । उनका अनुसार विपन्नताका कारण उपचार गराउन नसकेका स्याङ्जाका बिरामीहरुलाई उपचार गर्ने सहमति भएको छ ।
सम्झौता अनुसार औषधि, औषधिजन्य सामान र खानाबाहेक (अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सीटीस्क्यान, एमआरआई) लगायत सबै सेवा निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । तर, बिरामीले उपचार गराउन आउँदा बीमा गराएको भए बीमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।
उपचारका लागि थप जानकारी आवश्यक परेमा माननीय धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS