काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको धनुषा-३ निर्वाचन क्षेत्र चर्चामा रहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी, रास्वपा नेता मनिष झा र एमाले नेतृ जुली कुमारी महतो उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
धनुषा ३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाको वडा वडा नम्बर १ देखि ८ सम्म तथा वडा नम्बर १०, १२, १५, १६ र २० सम्म र वडा नम्बर २३, २४ र २५ समावेश रहेका छन् ।
निर्वाचन आयोगका अनुसार धनुषा-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २५ हजार ९२७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा धनुषा-३ बाट एमालेकी जुली कुमारी महतो विजयी भएकी थिइन् । महतोले ३३ हजार ३८८ मत प्राप्त गरेर विजयी भएकी थिइन् । त्यस्तै दोस्रो भएका लोसपाका अनिल कुमार झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए भने जनमत पार्टीका शम्भु नाथ शाहले ७ हजार ३७४ मत पाएका थिए ।

त्यसैगरी २०७९ को समानुपातिकतर्फ धनुषा-३ मा नेपाली काँग्रेसले सबैभन्दा बढी २५ हजार १९५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार ८७४ मत पाएको थियो । त्यसैगरी जनमतले ८ हजार ८२ मत पाएको थियो भने जसपा नेपालले ५ हजार ३१७ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२

यस पटक धनुषा-३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यो चुनावमा धनुषा- ३ मा भने हाइप्रोफाइल नेताहरुको भिडन्त रहेको छ । यस क्षेत्रमा अघिल्लो पटक समानुपातिक सांसद रहेका काँग्रेसका विमलेन्द्र निधि उम्मेदवार बनेका छन् । त्यस्तै एमालेले यस पटक पनि जुली कुमारी महतोलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै यस अघि समानुपतिक सांसद रहेका रास्वपा प्रवक्ता मनिष झा यस पटक यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाले यस क्षेत्रमा राम ललित मण्डललाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले गोपाल प्रसाद शाहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी जसपा नेपालले परमेश्वर साह सुडीलाई उम्मेदवार बनाएको छ ।

निष्कर्ष:
विमलेन्द्र निधि, मनिष झा र जुली कुमारी महतो जस्ता नेताहरुको उम्मेदवारीले यस क्षेत्रलाई निकै रोचक बनाएको छ । यस पटक गत निर्वाचनको भन्दा समीकरण बदलिएको छ । किनकी गत निर्वाचनमा यस क्षेत्रमा काँग्रेसले लोसपालाई समर्थन गरेको थियो । गत निर्वाचनको समानुपातिक मतको विश्लेषण गर्दा यस क्षेत्रमा काँग्रेसको मत नै धेरै छ । तर यस पटक रास्वपाको लहर र काँग्रेसबाट हाइप्रोफाइल नेता विमलेन्द्र निधी उम्मेदवार रहेका कारण एमालेलाई मुश्किल हुने देखिन्छ ।
गत निर्वाचनमा समग्र मधेशमा रास्वपा कमजोर रहेकोमा यस पटक मधेशकै बालेन शाहलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपाले मधेशको जनमत लिने कोसिस गरिरहेको छ । तर काँग्रेसले सभापति गगन थापालाई मधेश पठाएर रास्वपालाई रोक्ने प्रयास गरेको देखिन्छ । अब यस क्षेत्रमा रास्वपाले कति मत पाउछ या चुनाव जित्ने अवस्थामा पुग्छकी पुग्दैन भन्ने अनुमान गर्न अहिले मुश्किल नै छ ।
स्थानीयसँग कुरा गर्दा पनि मतदाता अहिलेसम्म पर्ख र हेरको अवस्थामा नै रहेको देखिन्छ । उनीहरुको मनोविज्ञान अझै पनि यसलाई नै मत दिने भन्ने निष्कर्षमा पुग्न नसकेको बुझ्न सकिन्छ । केहि मतदाता परिवर्तनको पक्षमा देखिएका छन् भने बर्षौं देखि स्थानीय रुपमा सहयोग गरिरहेका नेताहरुलाई एकै पटक छोड्दा पछि परेको बेला सहयोग पाइन्छ या पाइदैन भन्ने डर पनि मतदातामा देखिएको छ ।
यसरी अहिलेसम्मको अवस्था हेर्दा यस क्षेत्रमा एमाले, काँग्रेस र रास्वपाबीच नै प्रमुख प्रतिष्पर्धा हुने देखिन्छ ।
FACEBOOK COMMENTS