काठमाडौँ । धनुषाको कमला नगरपालिकका पूर्व मेयर राम उद्गार गोइतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने ठेक्कामा व्यापक अनियमितता गरेको अभियोगमा अख्तियारले तत्कालीन मेयर गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादवविरुघ मुद्दा दर्ता गरेको हो ।
यस्तै कमला नगरपालिकाका तत्काली कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन र ईन्फ्रास्ट्रक्चर एस एण्ड बी विल्डर्स प्रालि विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
कमला नगरपालिका–३ स्थित लग्मा बजार नजिकको पोखरी सौन्दर्यकरण योजनामा कम रकम कबोल गर्ने निर्माण व्यवसायीलाई पन्छाएर बढी रकम कबोल गर्नेलाई ठेक्का दिई राज्यलाई हानि नोक्सानी पुर्याएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाले पोखरी सौन्दर्यकरणका लागि आह्वान गरेको बोलपत्रमा ’सेट स्क्वायर कन्सट्रक्सन प्रालि’ ले सबैभन्दा कम ४२ लाख ७४ हजार ५५१ रुपैयाँ कबोल गरेको थियो । तर नगरपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा उक्त कम्पनीले पेस गरेको सम्झौता निवेदन र बैंक ग्यारेन्टी लगायतका कागजात लुकाई नष्ट गरिएको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई कालोसूचीमा नराखी केवल बिड बोन्ड मात्र जफत गर्ने र दोस्रो बढी रकम कबोल गर्ने ’ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रालिसँग ७२ लाख २१ हजार ७३० रुपैयाँमा सम्झौता गरेको पाइएको छ । यसरी कम कबोल गर्नेलाई हटाएर बढी कबोल गर्नेलाई ठेक्का दिँदा नगरपालिकालाई २९ लाख ४४ हजार १३७ रुपैयाँ नोक्सान भएको अख्तियारको ठहर छ ।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गर्दै जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ । साथै, तत्कालीन मेयर गोइतलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायसमेत माग गरिएको आयोगका प्रवक्ता जनाएका छन् ।

FACEBOOK COMMENTS