काठमाडौं । टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ ।
एकातिर कराहीमा ट्राउट माछा तारिँदै थियो अर्कातिर खानाको तयारी । तरकारी र सलाद काटिँदै थियो । “ए माछा डढ्ला है,” राजेन्द्रले भाइलाई सम्झाए । पाकेको माछा थालमा खन्याउँदै अर्को खेप कराहीमा राख्दै भने, “आज तल जान पाइएन, दुई किलो माछाले के पुग्ला र खै ? ”
एक वर्षअघि कहिलेकाहीँ देखिने पर्यटक अचेल दिनहुँ जस्तै आउन थालेपछि गुरुङ परिवारको दिनचर्या फेरिएको हो । त्यस दिन २५ जनाभन्दा बढी आगन्तुक एकैचोटि धाप ड्याम हेर्न र घुम्न आइपुगेका थिए । उनीहरू पाँच मिनेटमाथिको ताल र त्यहाँको सौन्दर्यमा रमाएर फर्कुन्जेल खाना बनाइसक्नुपथ्र्यो ।
बारीमै फलेको साग, आलु, काउलीका तरकारी, आलुको भुजिया, पापड, टिमुर हालेर पिँधेको गोलभेँडाको अचार र मुलाको खाँदेको अचारसँगै तातो भातको थाल हेर्दै रहरलाग्दो थियो । “खाना ढिला भएकाले भोकाएका आगन्तुकले माछा पहिल्यै खाई भ्याए । साहुनी पूजा गुरुङले भने, “माछा सकिए पनि लोकल कुखुराको मासुको झोल बनाएका छौँ ।” आगन्तुकले स्थानीय परिकारको स्वाद लिएर खाए ।
पहिले आकलझुकल मात्रै आगन्तुकको मुख देख्न पाउने गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको त्यो छेउमा अचेल आन्तरिक र बाह्य पर्यटकको ‘जक्सन’ नै बनेको छ । निकुञ्जभित्र धाप ड्याम बनेपछि सुन्दर ताल हेर्ने र हाइकिङमा रमाउनेको लर्को बढेको हो ।
निकुञ्ज सकिनेबित्तिकै सुरु हुने मध्यवर्ती क्षेत्रको पहिलो कुनामा गुरुङ परिवारको होटल छ । धाप ड्यामको ताल हेरेर फर्किएपछि होटल परिसरबाट गौरीशङ्कर हिमशृङ्खलाको लहर बिहानैदेखि अपराह्नसम्म सेता हिउँले झलल हेर्ने व्यवस्था मिलाइएको छ । आगन्तुकले खाना पाकुन्जेल हिमाल हेर्नकै लागि बनाइएको टाँड र प्रेम प्रतीकमा फोटो खिचेर यात्राको स्मृतिलाई फोटोमा जीवन्त राख्छन् । कतिपय देखिएजस्तै सुन्दर हिमाल फोटोमा सजाउन यत्न जारी राख्छन् ।
यसरी होटल राखेको छ वर्ष बित्यो तर एक वर्षयता धेरै मानिस आउन थालेपछि सो परिवारको दिनचर्या व्यस्त बनेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS