काठमाडौँ । पुनःनिर्माणपश्चात धरहरा सशुल्क सञ्चालन भएको आज (मंगलबार) एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रूपैयाँ सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो (सोमबारसम्म) मा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए ।
‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,’ उनले भने, ‘बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो ।’
पछिल्लो समय छिमेकीमुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
यहाँ पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रूपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रूपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रूपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रूपैयाँ तोकिएको छ । व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रूपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार छ रूपैयाँ निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS