काठमाडौं । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ । पुनःनिर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ ।
केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।
छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताए ।
“विसं २०५५ मा साविक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध थियो । त्यसमध्ये पनि तत्काल गर्नुपर्ने काममध्ये सुरक्षित र व्यवस्थित सेवा हो”, उनले भने,“सडकमा पार्किङको विकल्पमा सुन्धारा एउटा विकल्प हो । यस ठाउँलाई सुरक्षित र व्यवस्थित बनाउँदै महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउने छौँ ।”
विसं २०७२ को भूकम्पले ढलेको धरहरा पुनःनिर्माणका लागि विसं २०७५ पुस १२ मा पुनःनिर्माणका लागि भूमिपूजन र शिलान्यास भएको थियो । तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० लागतमा यसको पुनःनिर्माण गरिउको हो । धरहरा ७९ दशमलव दुई मिटर अग्लो छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला रहेका छन् ।

FACEBOOK COMMENTS