काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गर्ने भएका हुन ।
दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने जानकारी कम्पनीहरूले दिएका छन् । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।
FACEBOOK COMMENTS