भोजपुर । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।
कुटानी पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकीजाँतोको प्रयोग हराउन थालेको छ । मानिसहरू उत्पादनमुखीभन्दा पनि आयातित चामल, दाललगायत खाद्य सामग्री प्रयोगमा बढी निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराउँदै गएको देखिन्छ ।
विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी पिसानी गर्दै आएका छन् । दशकअघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९९ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताए । पितापुर्खाले गरिल्याएको यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘गाउँघरमा परम्परागत रूपमा प्रयोगमा ल्याइने ढिकीजाँतो, पानीघट्टको चलन हराउँदै गएको अवस्था छ,’ उनले भने, ‘पहिला गाउँघरमा ढिकीजाँतो अनिवार्यजस्तै थियो । अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकीजाँतोको चलन इतिहास बन्ने अवस्था छ ।’
गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युतबाट चल्ने मिल राखेर धान, मकै कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रूपमा चल्दै आएका ढिकीजाँतो हराउन थालेका हुन् ।
कुटानी पिसानीका लागि आधुनिक मिलले सहज भएपछि ढिकीजाँतो लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकीजाँतोमा कुटेका खानेकुरा स्वस्थकरसँगै स्वादिष्ट हुने स्थानीयवासी तिलकबहादुर विष्ट बताउँछन् ।
‘आधुनिक मिलमा कुटानी पिसानीका लागि सहज छ । तर परम्परागत चलन हराउँदै गएको अवस्था छ । मिलमा कुटान पिसानीका लागि छिटो हुने भएकाले ढिकीजाँतोको चलन हराएको छ,’ उनले भने ।
गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनले बताए ।
भौगोलिक रूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँमा भने परम्परागत रूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी रामबहादुर विष्ट बताउँछन् ।
नयाँ प्रविधिको विकासले परम्परागत ढिकीजाँतो इतिहास बन्ने अवस्था आएको उनले बताए । परम्परागत रूपमा प्रयोग गर्दै आएका ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पूजाआजामा प्रयोग गरिने पिठो चामललगायत कुट्नका लागि ढिकी अनिवार्यजस्तो नै रहेको उनको भनाइ छ । परम्परगत रूपमा गरिने काममा मेहनत धेरै परे पनि कम खर्चिलो हुने उनले बताए ।
‘मेहनत बढी परे पनि ढिकीजाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ,’ उनले भने, ‘यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुरालाई हामीले पनि संरक्षण गर्न आवश्यक छ ।’
आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्त्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ । परम्परागत रूपमा चलन आउने गरेका प्रविधिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको स्थानीय जानकारहरू बताउँछन् ।
FACEBOOK COMMENTS