काठमाडौं । जेन्जी आन्दोलनका क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्षसमेत रहेका व्यवसायी ध्रुव थापाको निजी निवास र सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू आगजनीमार्फत सखाप बनाइएको छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनविरुद्धको आन्दोलनमा सत्ताका नेतृत्वकर्ताहरू निशानामा पर्नु स्वाभाविक ठानिए पनि आफू समेत त्यसको शिकार बन्नुपर्दा निकै अचम्ममा परेको मात्र होइन सपनाजस्तो लागिरहेको व्यवसायी थापा बताउँछन् ।
‘म कुनै राजनीतिक व्यक्तित्व हुँदै होइन, भ्रष्टाचारजन्य क्रियाकलापबाट म मयौँ माइल टाढै छु र भ्रष्टाचार गरेर सम्पत्ति आर्ज गर्नुपर्ने अवस्था मलाई छैन,’ उनले भने, ‘म राजनीतिक र भ्रष्टचारी व्यक्ति नहुँदा पनि मान्छेसहित मेरो घरमा आगो किन लगाइयो ?’
सहयोगी एकजना महिलालाई घरबाट निस्किनै नदिई आगो झोसिएको र उनको जलेर मृत्यु भएको दृश्यले आफूलाई पल–पल पोलिरहेको उनी बताउँछन् । ‘सम्पत्ति र घर गुमाउनुको पीडा अहिले मेरा लागि सामान्यप्राय: भएको छ । किनकी त्यो भन्दा पनि धेरै पीडा हाम्रो ‘परिवारकै सदस्य’ भएर बसेकी हाम्री सहयोगी बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ,’ व्यवसायी थापाले भने, ‘घटना हुनुभन्दा केही क्षणअघि मात्रै आफ्नो परिवारलाई खाना पकाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नुपरेको छ ।’
आफ्नो बाजेहरू र बुबाले आर्जेको जग्गामा बनाइएको घरमा ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको चर्चा गर्दै उनले जेन्जीको नाममा फैलाइएको लुटपाट, तोडफोड र आगजनीको निशानामा परेर क्षणभरमै खरानी बनाइनु निक्कै रहस्यमय घटनाजस्तो लागिरहेको बताएका छन् । जलेर खरानी भएको घरको भग्नावशेषसमेत हेर्नसमेत नसकिरहेको उनी बताउँछन् ।
थापा र उनकी जीवनसङ्गीनी पछिल्लो समय व्यवसाय भन्दा पनि सामाजिक कामहरू जोडिएर समाजमा योगदान दिँदै आएका थिए । व्यवसायहरू एकप्रकारले प्रणालीगतरूपमा चल्न थालिसकेपछि कतिपय कामहरू आफ्ना छोराछोरीलाई जिम्मा लगाएर उनीहरू समाजसेवामा थप सक्रिय बन्दै आएका थिए । उनका दाजु राजनीतिमा जोडिए पनि आफू भने टाढै रहँदै आएका थिए ।
व्यवसायमा सफलतापछि राजनीतिलाई समाजसेवाका रूपमा अघि बढाउँछु भनेर दाजुले उक्त बाटो रोज्नु अपराध नभएको पनि उनले स्पष्ट गरेका छन् । हरेक व्यक्ति आफू स्वतन्त्र विचारद्वारा निर्देशित हुने भन्दै उनले परिवारको कोही सदस्य राजनीतिमा लाग्दा सबै सबैलाई त्यही भाँडोमा राख्न नहुने उनको धारणा छ ।
मानवीय क्षतिसहित घरसम्पत्ति गुमाएर विक्षिप्त बनेका उनले शून्यबाट भए पनि उठ्ने अठोट व्यक्त गरेका छन् ।
उनको भनाइ जस्ताको जस्तै–
म कुनै राजनीतिक मान्छे थिइनँ । न कुनै भ्रष्ट वा तस्कर । १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरू गरेको थिएँ । कति आरोह अवरोह र जोखिम पार गरेर यो स्थितिमा आइपुगेको अवस्था हो । आफूले मात्रै उद्यम व्यवसाय गरिन अरु धेरैलाई पनि सिकाएं । नेपालमै उद्यम गर्नुपर्छ । नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित पनि गर्दै आएको छु ।
आफूले उद्यम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु । युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु । म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं । ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरू आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ । जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन् ।
हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दु:ख पर्दा आफ्नो व्यापार, व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं । आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ । जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन् । जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ ।
घरमा मान्छे छन् भन्ने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेन्जीले गरेका हुन् वा त्यहाँभित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन् । अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ । दाई राजनीतिमा हुनुहुन्छ । उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो । के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनुहुन्थ्यो ।
अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ । उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो । हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा ।
एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ । यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ । उनीहरूकै सन्तान हौं हामी । यसैले हामीलाई यो देशको अझ बढी माया छ । मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ । उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ ।
जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ । भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गथ्र्यो होला र ? यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ ।
FACEBOOK COMMENTS