काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् ।
नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।
उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुुई करोड ९६ लाख यान अनुदान दिनेछ ।
सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुुईपक्षीय हस्ताक्षर भएको थियो । यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो ।
आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ ।निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ ।
सेन्टरमा पार्किङ, आइसियु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुने छ । यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख छ । शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद् गोकुलप्रसाद बाँस्कोटालगायत सहभागी थिए ।
केपी ओलीले धुलिखेल पुगेर भने– स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशा पलाएको छ
FACEBOOK COMMENTS