काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की प्राप्त भएको छ। वट्सएपमार्फत पठाइएको एक भ्वाइस नोटमा अज्ञात व्यक्तिले करोडौँ रकम फिरौती माग्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बताइएको छ ।
धम्की प्राप्त हुनासाथ मुम्बई प्रहरीले रणवीर सिंहको बाँद्रा स्थित निवास बाहिर सुरक्षा व्यवस्था कडा बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो घटना चलचित्र निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घर बाहिर जनवरी ३१ मा पाँच राउन्ड फायरिङ भएको घटनापछि आएको हो । उक्त घटनापछि मुम्बई प्रहरी थप सतर्क बनेको छ ।
प्रहरी अधिकारीहरूका अनुसार धम्कीपूर्ण भ्वाइस नोटमा आरोपीले आफू गम्भीर अपराधसँग जोडिएको दाबी गर्दै ठूलो रकम नदिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सो भ्वाइस नोट फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।
मुम्बई प्रहरीको साइबर सेल र क्राइम ब्राञ्चले संयुक्त रूपमा वट्सएप नम्बर र भ्वाइस स्याम्पलका आधारमा आरोपीको लोकेसन पत्ता लगाउने प्रयास गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा धम्की दिने व्यक्ति कुनै आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले रणवीर सिंहलाई आएको धम्की र रोहित शेट्टीको घरमा भएको फायरिङ घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध छ वा यो केवल आतंक फैलाउने षड्यन्त्र हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ । यसैबीच, रणवीर सिंह हालै रिलिज भएको फिल्म ‘धुरन्धर’ का कारण चर्चामा छन्। फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै रणवीरको करियरमा ठूलो सफलताका रूपमा स्थान बनाएको छ । एक्सन, ड्रामा र भावनाले भरिएको यस फिल्ममा रणवीरको सशक्त अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्म ‘धुरन्धर’ मा रणवीर सिंहले परिस्थितिसँग जुध्दै प्रणालीविरुद्ध उभिने पात्रको भूमिका निभाएका छन् । उनको अभिनय, बडी ल्याङ्ग्वेज र संवाद प्रस्तुतिको व्यापक प्रशंसा भइरहेको छ । फिल्मको सफलतापछि अब दर्शकको ध्यान ‘धुरन्धर २’ तर्फ केन्द्रित भएको छ । रिपोर्टअनुसार निर्माता पक्षले सिक्वेललाई अझ ठूलो स्तरमा निर्माण गर्ने तयारी गरिरहेको छ, जसमा रणवीरको पात्रलाई थप गहिराइ दिँदै एक्सन र भावनात्मक ड्रामालाई अझ प्रभावशाली बनाइदैछ ।

FACEBOOK COMMENTS