सप्तरी । सप्तरी जिल्लाको छिन्मस्ता गाउँपालिका–५ स्थित लोखरम मुसहर टोलका झाडापखाला पीडित बचुन सदालाई २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नम्बर ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्मस्ताका बिओपीपति सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले उनलाई कार्तिक २० गते हस्तान्तरण गरेका हुन् ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४ भेड्पु निवासी रोज गोलेको समन्वयमा सोही ठाउँको शहरे निवासी एस चाईनिज किचनका प्रवन्धक एवं समाजसेवी साङ्यो योन्जन र निजको श्रीमती निमा मोक्तानले उक्त रकम सहयोग गरेका थिए ।
उनीहरुले यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयलाई निजी शिक्षकको व्यवस्था, विद्यालयमा खाजा खानको लागि भाडावर्तनको व्यवस्था लगायतका धेरै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएका छन् ।
करीव दुई हप्तादेखि फैलिएको झाडापखालाको कारण उनका ६६ वर्षिय बुवा, चार वर्षकी छोरी र एक वर्षको छोराको मृत्यु भएको थियो ।

FACEBOOK COMMENTS