काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
यद्यपि, प्रहरीले उनीविरुद्ध कसले के आरोपमा उजुरी गरेको हो भन्ने विषय भने खुलाएको छैन ।
पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीर देउवाबारे युट्युबमा पोष्ट गरेको सामग्रीका कारण पक्राउ पुर्जी जारी भएको हुन सक्ने अनुमान गरिएको छ ।
केही समयअगाडि पत्रकार पाठकले युट्युबमा जयवीरले शङ्कर ग्रुपको लगानी रहेको काठमाडौंको नक्सालस्थित हिल्टन होटेलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए । जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको दाबी भिडिओमा गरिएको थियो ।
यस सम्बन्धमा शङ्कर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने बताएको थियो ।
FACEBOOK COMMENTS