काठमाडौं । जीवन जन्म देखि मृत्युसम्मको निरन्तर यात्रा हो । यो यात्रामा आइपर्ने चुनौती, असफलता र गल्तीबाट सिक्दै अघि बढ्न सके मात्रै सफलता हासिल गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।
शुक्रबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘योजना तर्जुमा कार्यशाला’लाई सम्बोधन गर्दै श्रेष्ठले जीवन र व्यवसायमा सफल हुन निरन्तर सिकाइ, मेहनत, सीप, अनुशासन र सही निर्णय आवश्यक रहेको बताए ।
मानव जीवन जन्म र मृत्युसँग जोडिएको उल्लेख गर्दै उनले यी दुईबीचको यात्रामा चुनौती स्वाभाविक हुने बताए । उनका अनुसार जीवनमा गल्ती नगर्ने कोही हुँदैन । तर, गल्तीबाट सिकेर आफूलाई सुधार्दै अघि बढ्नु नै जीवनको वास्तविक सिकाइ हो ।
‘जीवनमा पटक–पटक असफल भए पनि हिम्मत हार्नु हुँदैन,’ श्रेष्ठले भने, ‘असफलतालाई सिकाइको अवसरका रूपमा लिएर अघि बढ्नेहरू नै अन्तत: आफ्नो गन्तव्यमा पुग्छन् ।’
व्यवसायमा सफल हुन मेहनत मात्रै पर्याप्त नहुने श्रेष्ठको भनाइ छ । त्यसका लागि सीप र स्मार्ट वर्क आवश्यक रहेको उनले बताए ।

उनका अनुसार व्यापारमा नयाँ विचार जताततै भेटिए पनि त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा ठूलो चुनौती हो । प्रतिस्पर्धी बजारमा टिक्न मूल्य वा गुणस्तरमध्ये कम्तीमा एउटा पक्षमा आफूलाई अब्बल बनाउनुपर्ने उनले बताए ।
‘ग्राहकले वस्तु मात्र किन्दैनन्, उनीहरूले आफ्नो समस्याको समाधान किन्छन्,’ श्रेष्ठले भने, ‘मानिसलाई जे चाहिएको छ, त्यो दिन सकियो भने व्यापार आफैँ चल्छ ।’
व्यवसायमा निरन्तर सिकाइ, सुधार र परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले आफूसँग भएको सीपलाई सही ढंगले प्रयोग गर्न सके सफलता हासिल गर्न सहज हुने बताए ।
श्रेष्ठले मानिसले आफ्नो असफलताको दोष अरूलाई दिनुभन्दा त्यसको वास्तविक कारण आफैँभित्र खोज्नुपर्ने बताए । आफ्नो क्षमता र प्राथमिकताभन्दा बाहिरका विषयमा आवश्यक पर्दा स्पष्ट रूपमा ‘नो’ भन्न सक्नुपर्ने उनको भनाइ छ ।
अरूलाई देखाउनका लागि गरिने खर्चले आर्थिक समस्या निम्त्याउन सक्ने भन्दै उनले आफ्नो आवश्यकता र क्षमताअनुसार जीवनशैली अपनाउन सुझाव दिए ।
आफूले गरेको निर्णयको परिणाम अन्तत: आफैँले भोग्नुपर्ने भएकाले हतारमा नभई सोचेर निर्णय लिनुपर्ने उनले बताए । व्यापारमा पैसा भन्दा पनि विश्वास ठूलो पुँजी भएको उल्लेख गर्दै श्रेष्ठले इमानदारी र नैतिकताका साथ व्यवसाय गरे दीर्घकालीन सफलता हासिल गर्न सकिने बताए ।
श्रेष्ठले ऋण लिँदा पनि वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । ऋणलाई उत्पादन र लगानीका क्षेत्रमा प्रयोग गर्नुपर्ने भन्दै उनले उपभोगका लागि ऋण लिने प्रवृत्तिबाट बच्न सुझाव दिए ।
व्यवसायीले पैसा कमाउन मात्रै नभई बलियो प्रणाली निर्माण गर्नेतर्फ पनि ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । व्यवसायमा प्रभावकारी सिस्टम विकास गर्न सके व्यवसायीले निरन्तर उपस्थित भइरहनु नपरे पनि व्यवसाय सञ्चालन भइरहने उनले बताए ।
श्रेष्ठले नेतृत्वको अर्थ अवसर पर्खेर बस्नु नभई आफैँ अवसर सिर्जना गर्नु रहेको बताए । सच्चा नेतृत्वले आफू मात्र अघि बढ्ने नभई आफ्नो टोली र सहयात्रीलाई समेत सँगसँगै अघि बढाउन सक्नुपर्ने उनको भनाइ छ ।
व्यवसायमा सफलता हासिल गर्न पैसा मात्र नभई सही सोच, नैतिकता, आत्मअनुशासन, निर्णय क्षमता र बलियो नेतृत्व आवश्यक पर्ने श्रेष्ठले बताए । उनका अनुभव र सुझावले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्नेदेखि त्यसलाई दीर्घकालीन रूपमा सफल बनाउनसम्म महत्वपूर्ण मार्गदर्शन दिने देखिन्छ ।