काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटना छानबिनका लागि नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनालगत्तै त्यसको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले कूटनीतिक पहल थालेको आज शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
‘परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ,’ मन्त्री राणाले भनेकी छन् ।
केआईआईटीमा बीटेक अध्ययनरत नेपाली छात्रा प्रिशा साह हिजो बिहीबार विश्वविद्यालयको छात्रावासको कोठामा मृत फेला परेकी थिइन् ।
ओडिसा सरकारले पनि विज्ञप्ति जारी गर्दै घटनाको छानबिन सुरु भएको जानकारी दिएको छ ।
भारतको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत भेटिएको घटना दुःखद भन्दै विश्वविद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
यसअघि गत फागुनमा सोही विश्वविद्यालयमा नेपाली अर्की नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।
भुवनेश्वर प्रहरीले यसपल्टको अनुसन्धानमा प्रकृति लम्साल मृत्यु घटनामा जस्तो कमजोरी नहुने बताएको छ ।
FACEBOOK COMMENTS