काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै डिप्रोक्स लघुवित्त कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त रहेको संस्थाको दाबी छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच असोज ३० गते सम्झौता भएको हो ।
सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि वाणिज्य बैंक र विकास बैंकका ग्राहकसरह कार्ड सुविधा तथा आधुनिक डिजिटल भुक्तानी सेवा उपयोग गर्न पाउनेछन् ।
एससीटीले सञ्चालन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सञ्जालमार्फत डिप्रोक्सले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ ।

यस सहकार्यले ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल भुक्तानी सेवा विस्तार गर्न सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ । लघुवित्तका ग्राहकलाई कार्ड सेवामा आबद्ध गराउने पहल वित्तीय समावेशीकरण र डिजिटल वित्तीय प्रणालीको विकासका लागि महत्त्वपूर्ण कदम भएको एससीटीले जनाएको छ ।

‘नेटवर्क फर अल’ भन्ने मूलमन्त्रसहित अघि बढिरहेको एससीटीले यस सहकार्यबाट लघुवित्त क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा जोड्ने लक्ष्य लिएको छ ।
