कास्कीको पर्यटकीय नगरी पोखराको पृथ्वीचोकमा अवस्थित दीर्घायु पोखरा हस्पिटल प्रालि अत्याधुनिक सेवासुविधासहितको बहुआयामिक अस्पताल हो । अनुभवी र दक्ष चिकित्सकहरूको साथमा अस्पतालले साना–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मलाई आफ्नो अत्याधुनिक उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
बिरामीको प्राथमिक र विशेष हेरचाह, प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरू र अन्य चिकित्सकीय सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दै आएको दीर्घायु अस्पतालले सही र समयमै उपचार प्रदान गर्न नवीनतम चिकित्सा प्रविधि र उपकरणहरू प्रयोग गरिरहेको अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मेघराज लामिछाने बताउँछन् । उनका अनुसार दीर्घायु पोखरा अस्पतालले उच्च–गुणस्तरको चिकित्सा सेवा प्रदान गर्दै सबै बिरामीहरूका लागि पहुँचयोग्य, किफायती र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्य बोकेको छ । त्यसका लागि अस्पतालले मेडिसिन, सर्जरी, गाइनोकोलोजी, पेडियाक्ट्रिक (बालरोग), नेफ्रोलोजी, कार्डियोलोजी, ईएनटी, इन्टरनल मेडिसिन, अर्थोपेडिक, साइकाट्रिक (मनोचिकित्सा), डर्माटोलोजी तथा भेनेरोलोजी र युरोलोजीलगायत विभागहरू गठन गरी प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको डा. लामिछानेको भनाइ छ ।
यी सबै सेवाहरूमध्ये अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. मेघराज लामिछानेसँग अस्पतालले हाडजोर्नीसम्बन्धी दिँदै आएको सेवा, हाडजोर्नी तथा नसामा समस्या आउनुका कारण, त्यसको रोकथाम, उपचार र अन्य विभिन्न पाटोबारे कर्पोरेट खबर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई वर्ष काम गरेर हाल दीर्घायु पोखरा अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा काम गरिरहेका डा. लामिछानेसँग गरिएको कुराकानीको सम्पादित अंश–
दीर्घायु पोखरा हस्पिटलमा यहाँ कति वर्षदेखि कार्यरत हुनुहुन्छ ?
हाडजोर्नीको डाक्टर भएर काम गर्नलाई लामो प्रक्रिया छ । सुरूमा पाँच–छ वर्षको एमबीबीएस अध्ययन पूरा गर्नुपर्यो । त्यसपछि एकदेखि दुई वर्षको कार्यानुभव हुनुपर्यो, तीन वर्ष रेजिडेन्सी प्रोग्राम बन्छ । तीन वर्ष हाडजोर्नी पढिसकेपछि मात्रै हाडजोर्नीसम्बन्धीको डाक्टर भइन्छ । मैले स्नातकोत्तर (मास्टर्स) सकेको अहिले तीन वर्ष भयो । तीन वर्षदेखि नै म दीर्घायु हस्पिटलमा कार्यरत छु ।
दैनिक कति जति बिरामी जाँच गर्नुहुन्छ यहाँ ?
म पहिला दुई वर्ष पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा काम गर्थेँ । त्यहाँ काम गर्दा ओपीडीमा दैनिक ५०–६० जना बिरामी जाँच्ने गर्थेँ । त्यहाँ हप्तामा दुई दिन अप्रेशन कक्षमा गइयो भने प्रत्येक दिन ४–५ जना गरी १० जनासम्मको अप्रेशन गर्नुपथ्र्यो । अहिले दीर्घायु अस्पतालमा आएपछिचाहिँ ओपीडीमा दैनिक १० जनाजति बिरामी हेर्ने गरेको छु । यहाँ पनि अप्रेशनहरू भइरहेका हुन्छन् ।
हाडजोर्नीका कस्ता–कस्ता बिरामी आउने गर्नुभएको छ ?
हाडजोर्नीका बिरामीहरूलाई विशेषगरी हामीले कम्तीमा पनि ५–६ प्रकारमा वर्गीकरण गरेर हेर्नुपर्दछ । पहिलो: जन्मजात हातखुट्टा र ढाडहरू बाँङ्गो भएर वा जन्मजात अपाङ्गता भएर आउने बिरामीहरू, दोस्रो: युवा समूह जो कामका लागि घरबाहिर निस्कनुहुन्छ । गाडी वा मोटरसाइकल चढ्नुहुन्छ । विभिन्न प्रकारका घटना तथा दुर्घटनाहरूबाट हुने चोटपटक जस्तै: हड्डी भाँचिएको वा नसा काटिएर समस्या आएको बिरामी हुनुहुन्छ । तेस्रो: बुढेसकालमा हड्डी मक्किने र खिइने, चौथो: बाथजन्य र जोर्नीका समस्याहरू लिएर आउने गर्नुभएको छ । यसैगरी पाँचौं: हड्डी र मासुको क्यान्ससम्बन्धी रोग र त्यससम्बन्धीका बिरामीहरू यहाँ आउने गर्नुभएको छ ।
यीमध्ये भर्खरै जन्मिएका बच्चाहरू जन्मजात देखिएको समस्या लिएर आउनुहुन्छ । युवावस्थाका मानिसहरू चोटपटक (ट्रमा) का समस्या लिएर आउनुहुन्छ र उमेरको उत्तरार्धमा हड्डी खिइएर आउने बिरामीहरूको चाप अस्पतालमा पर्ने गरेको छ । समग्रमा भन्नुपर्दा उमेर समूह अनुसार फरक–फरक समस्या लिएर बिरामीहरू आउनुहुन्छ । जसमा हड्डी खिइएर आउने बिरामीहरूको सङ्ख्या धेरै देखिन्छ ।
दुर्घटना नभएको अवस्थामा पनि मोटरसाइकल चढ्नेहरूमा हाडजोर्नी र ढाडको समस्या देखिने गरेको पाइन्छ, यो कुरा कति सत्य हो ? कसरी यस्तो हुन्छ ?
यो कुरा सत्य हो । छोटो–छोटो दूरीमा मोटरसाइकल चलाउनेहरूमा भन्दा पनि ढाड दुख्ने समस्या लामो समय र दूरीमा मोटरसाइकल चलाउनेहरूमा देखिने गरेको छ । जसको कारण भनेको बसाइको पोजिसन नमिलेर नै हो । पोजिसन नमिलेपछि ढाड अर्थात् मेरुदण्डमा ‘पोस्चरल ब्याक पेन’को समस्या उत्पन्न हुन्छ । यस्तो समस्या देखियो भने ठूलो भारी बोक्न, निहुरिन र धेरै समय सिधा बस्न नसकिने अवस्था सृजना हुन्छ । अझ कतिले त गरिरहेको काम नै छोडनुपर्ने पनि हुनसक्छ । घरमा रेष्ट गर्नुपर्ने अवस्था आउँछ ।
हाम्रो मेरुदण्डमा हड्डी हुन्छ । हड्डीको बीचमा ‘डिस्क’ हुन्छ । यिनीहरू एक आपसमा मिलेर बसेका हुन्छन् । त्यसैले हामी कुप्रो परेर बस्दा ढाडको कुरकुरे हड्डीमा बढी दबाब पर्छ । सबैभन्दा कम दबाब बेडमा छड्के परेर सुत्दा पर्छ भने सबैभन्दा बढी दबाब भारी बोकेर निहुरिँदा पर्दछ । अहिलेका बालबालिकाले बोक्ने गह्रौँ ब्यागहरूले गर्दा पनि यस्तो समस्या उत्पन्न भइरहेको छ । उनीहरूले त्यसरी ब्याग बोक्दा मेरुदण्डमा दबाब पर्छ र पछिसम्म समस्या देखा पर्न सक्दछ ।
यस्तो समस्याबाट बच्न के गर्नुपर्छ त ?
मुख्य कुरा क्षमता भन्दा बढी गह्रौँ वस्तु नउचाल्ने, मैले अगाडि उल्लेख गरेझैं बालबालिकाहरूलाई धेरै गह्रौँ ब्यागहरू बोक्न नलगाउने, ढाडलाई सोझो बनाएर बस्ने, कुप्रो परेर नबस्ने, ढाड दुखेका बिरामीले ठूलो र गह्रौँ साम्रगी नउचाल्ने, कडा ओछ्यानमा नसुत्ने, धेरै अग्लो सिरानी प्रयोग नगर्ने, लामो समय मोटरसाइकल नचलाउने, गर्दा यसबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । अन्यथा ‘क्रोनिक ब्याकपेन’ले पछिसम्म हामीलाई सताउँछ । चोटपटक लागेर सुन्निएको वा अरु केही भएको छ र अस्पताल टाढा छ भने दुई–तीन दिनसम्म आइस (चिसो)ले सेकेर दुखाइलाई मत्थर पार्न सकिन्छ ।
अहिले त चिसोको मौसम पनि चलिरहेको छ । चिसोमा हाडजोर्नीसम्बन्धी समस्या बढी देखिने र बिरामीहरूलाई पनि थप पीडा पर्छ भनिन्छ । यसबाट जोगिने कुनै उपाय छैन ?
पहिलो कुरा त चिसोले बढाउने समस्या कम गर्न चिसोबाटै जोगिन पर्छ । चिसोको मौसममा विशेषगरी हाडजोर्नीका समस्याहरू बढेर जान्छन् । बाथसम्बन्धी समस्या पनि गर्मीमा भन्दा जाडो मौसममा नै बढेर जाने गरेको छ । यससम्बन्धीका बिरामीहरूले आफू सतर्क रहनुको अरु भरपर्दो विकल्प छैन । विशेषगरी गृहीणीहरूले धेरै पानी खेलाइरहनुभएको हुन्छ । उहाँहरूले पानी कम खेलाउन पर्छ । सम्भव छ भने तातो पानी प्रयोग गर्दा राम्रो हुन्छ । ढाड वा जोर्नीहरूको समस्या छ वा दुख्छ भने राति सुत्नुअघि ‘हटवाटर ब्याग’को प्रयोग गरेर सेक्नुपर्यो । कतिपय अवस्थामा मसाज गरेर पनि समस्याको न्यूनीकरण गर्न सकिन्छ । लामो समयदेखि समस्या आइरहेको छ भने चिकित्सकसँग भेटेर आवश्यक सल्लाह लिने तथा उपचार गरेर निदान गर्न पनि सकिन्छ ।
जस्तो: मसाज गर्दा प्रयोग गरिने ‘मुभ’हरूका कारण कालान्तरमा हड्डी खिइने समस्या उत्पन्न हुन्छ भनिन्छ । यसमा कत्तिको सत्यता छ ?
सरसर्ती हेर्दा कुनै पनि औषधिको सामान्य साइड इफेक्ट त हुने नै भयो । तर, मुभ दलेर हड्डी खिइने भन्ने हुँदैन, यो बुझाई गलत हो । मुभ र वा एनेल्जेसिक जेलहरू लोकल एरियामा लगाउँदा अलिकति दुखाई कम हुन्छ । जस्तो: कुहिनाहरू खुस्किएको वा हड्डीहरू भाँचिएको ठाउँमा त्यस्ता बजारमा पाइने जेलहरू लगाएर मसाज नगर्नू भनिएकोचाहिँ अरु इफेक्ट पर्नसक्छ र उपचारमा समस्या आउनसक्छ भनेर हो ।
हाडजोर्नी तथा नसासम्बन्धी समस्यामा रहनुभएकाहरूलाई के–कस्तो सुझाव दिन चाहानुहुन्छ ?
सबैभन्दा पहिला त रोग लाग्न नदिनु नै ठूलो कुरा हो । त्यसका लागि आफ्नो हड्डी र मासुलाई स्वस्थ राख्नुपर्दछ । त्यसलाई स्वस्थ बनाउने शारीरिक व्यायामले हो त्यसलाई प्राथमिकता दिन आग्रह गर्दछु । शारीरिक व्यायामले सबै रोक्न नसके पनि धेरै हदसम्म कम वा न्यूनीकरण गर्न सकिन्छ । यसैगरी, खानपानमा क्याल्सियम र भिटामिनयुक्त खानाहरू जस्तै: माछा–मासु, गेडागुडी, दूध सेवन गर्न पनि आग्रह गर्दछु । युरिक एसिडजस्ता रोगहरू छन् भने गेडागुडीजन्य वस्तुहरू नखानु छुट्टै कुरा हो । यद्यपि, हड्डीलाई बलियो बनाउनका लागि खानपान र व्यायाममै ध्यान दिनुपर्दछ । साथै भिटामिन ‘डी’ का लागि बिहानको घाममा पनि बस्नुहोला ।
FACEBOOK COMMENTS