काठमाडौँ । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९÷०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल प्रारम्भ भएको हो ।
आजको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले समग्रमा बजेट प्रदेशलाई नयाँ आयाम दिने किसिमको भएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
प्रदेशसभा सदस्य रामआशिष यादवले यसवर्षको बजेटमा प्रदेशलाई समृद्ध बनाउने महत्वपूर्ण र नयाँ योजनाहरुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसपालिको बजेटमा अबण्डा नराखिनु बजेटको सकारात्मक पक्ष भएको टिप्पणी गरे ।
‘‘पहिला पहिला बजेटमा अबण्डा राखिन्थ्यो”, प्रदेशसभा सदस्य यादवले भने, ‘‘तर यसपालिको बजेटमा अबण्डा राखिएको छैन, जुन बजेटको सकारात्मक कुरा हो ।” यसबाट आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशलाई विकास र समृद्धिको बाटोमा डो¥याउन मद्दत पुग्ने खालको बजेट भएको भन्दै बजेटले सबै धर्म, भाषाभाषी, संस्कृतिलाई सम्बोधन गरेको बताए।
दलित समुदायको सशक्तीकरणका लागि बजेट विनियोजन गर्नु सकारात्मक भए पनि दलितभित्रका खास केही जातलाई मात्र समेटिएको भन्दै त्यसलाई सुधार गरी जातको नभई आर्थिक विपन्नताका आधारमा योजनामा समेट्नुपर्ने सुझाव दिए ।
FACEBOOK COMMENTS