काठमाडौं, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिमण्डलसँग भेट गरी समसायिक विषयमा छलफल गरेका छन् ।
राप्रपा अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले चेम्बर प्रतिनिधिलाई भेटी नेपाली उद्योगी व्यवसायीका समस्या, कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, अर्थतन्त्र उकास्न निजी क्षेत्रका प्रयास र राप्रपाले आगामी दिनमा समेट्नु पर्ने विषयहरूमा रणनीतिक छलफल गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्शको कार्यालयमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपालले वर्षेनी खरर्बौ मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमीमा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेको भन्दै उनले कृषिलाइ प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसँग संयोजन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
आज बुधबार चेम्बरमा भएको उक्त छलफलमा चेम्बर अध्यक्ष मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउँदै विदेशबाट शीप सिकेर आएका युवाहरुको शीप उपयोगका लागि न्युनतम ब्याजदरमा कर्जा उपलब्ध हुनुपर्ने बताए ।
साथै घरजग्गा कारोबारलाइ व्यवस्थित गर्न ब्रोकर लाइसेन्सको व्यवस्था, विदेशी लगानीमा स्थापना हुने उद्योगमा पीपीपी मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्नेमा पनि उनले जोड दिएका छन् । राप्रपाले निकट भविष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त निजी क्षेत्रको अवधारणाबारे जानकारी लिचेम्बरको प्रतिनिधिमण्डलसँग भेट गरेको हो ।
उक्त अवसरमा राप्रपा अध्यक्ष कमल थापाले चेम्बरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउँदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्बरबाट प्रस्तुत गरिएका सुझावहरुलाइ मनन गरिने बताए ।
राप्रपाका अध्यक्ष पशुपति समशेर जबराले आर्थिक विकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यतासहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने विश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताए ।
त्यसैगरी राप्रपाका अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले चेम्बरबाट प्रस्तुत सुझावहरुबारे जिज्ञासा राखेका थिए । सो अवसरमा राप्रपा आर्थिक विभागका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति थियो ।
उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, तथा चेम्बर कार्यसमिति सदस्य पर्शुराम दाहाल, राजारत्न तुलाधर, दीपककाजी तुलाधर र राम श्रेष्ठको समेत उपस्थिति थियो ।
राप्रपाले यसअघि हिजो मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँग पनि छलफल गरेको थियो ।
FACEBOOK COMMENTS